Skip to main content

Loksamarpan

२०८३ असार २८ गते आईतवार
२०८३ असार २८ गते आईतवार

शिक्षक प्रतियोगितामा सफल हुन कस्ता पुस्तक पढ्नुपर्छ र कसरी पढ्ने ?

डा.लोकबहादुर लोप्चन,कामू सचिव,भाषा आयोग

१. परिचय 

आधिकारिक, गुणस्तरीय, स्तरीय, प्रामाणिक, मूल सामग्रीको अभावमा न त पढाइको स्तर उठ्छ न खोजिएको सूचना वा तथ्य नै प्राप्त गरिन्छ । यसको मतलब परीक्षार्थीले सही पाठ्यसामग्रीको अभावमा सही र पर्याप्त जानकारी प्राप्त गर्न सक्दैन । साथै अध्ययनको गहिराई छिचोलिन्न । जसको कारण परीक्षार्थीले विषयवस्तुको अवधारणा, सैद्धान्तिक र व्यावहारिक पक्षको ज्ञान, सीप तथा प्रयोग पक्षमा स्पष्ट र छर्लङ्ग हुन्न । त्यसकारण सुनको काम नुनले गर्दैन अनि खोजेको मणिसहितको मोती हो तर मणिविहिन मोतीरूपी स्तरहीन, सूचनाहीन, अपर्याप्त सामग्रीको कारण परीक्षार्थीको मेहनत र लगानी त गयो गयो तर जीवन र जागिरबीच नाता जोड्नै पाउँदैन ।

तसर्थ भन्न खोजिएको कुरा के हो भने जसरी बजारमा भेटिएका मिसावटयुक्त खाद्यन्नले स्वास्थ्य बिगार्छ यति मात्र कहाँ हो र कहिलेकाँही ज्यानै पनि जान सक्छ । त्यसरी नै परीक्षार्थीले सतही पुस्तक, गाइड, गेसपेपरको मात्र भर परेमा जीवनको सफलतामा धोका पुग्न सक्छ किनभने अर्को प्रतिस्पर्धीले आधिकारिक, गुणस्तरीय, प्राज्ञिक, तथ्यपूर्ण र पर्याप्त पाठ्यसामग्रीको अध्ययन गरेको हुन सक्छ । तसर्थ शिक्षक प्रतियोगिता परीक्षामा सफलताको लागि प्रथम पाइला आधिकारिक पाठ्यपुस्तक, अनुसन्धान प्रतिवेदन, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, शिक्षण विधिका पुस्तक, विशिष्टीकरण तालिका, पाठ्यक्रमको विस्तृतीकरण, शिक्षा ऐन नियम, मूल कानुन, दस्तावेज, तालिम प्याकेज, सूचना संगालो, तथ्याङ्कसम्बन्धी पुस्तक आदिको संकलन हो । यसको आशय सहायक पुस्तकहरू खालि सहयोगी मात्र हुन् जसको नामै सहयोगी मूली कसरी हुने प्रष्टै छ । तसर्थ सहायकले त सहयोग न गर्छ, सबै काम गर्ने त मूली भएजस्तै मूल पाठ्यसामग्री नै हो । यसबाट प्रष्ट हुन्छ कि परीक्षामा पढेर मात्र पास हुने होइन कस्ता सामग्री पढे भन्ने पनि महत्वपूर्ण हुन्छ । जसरी कार्वोहाइड्रेड, भिटामिन, प्रोटिन, खनिज जस्ता पोषिला तत्वको अभावमा मानिस कुपोषित हुन्छ । त्यसरी नै आधिकारिक, प्रामाणिक, स्तरीय, गुणात्मक पाठ्यसामग्रीको अभावमा परीक्षार्थी ठगिन सक्छ । अतः परीक्षामा सफलताको सही र स्तरीय पाठ्यसामग्रीको छनोट र संकलन हुनै पर्दछ अन्यथा जति मेहनत गरे पनि सफलता हात लाग्ने संभावना कम हुन्छ ।

शिक्षक सेवा आयोगको परीक्षामा पनि हजारौंका बीच प्रतिस्पर्धा हुने भएकोले हरेक प्रतिस्पर्धीले विषयवस्तुको राम्रो ज्ञान राख्नुपर्दछ । त्यसको लागि शिक्षक सेवा आयोगको परीक्षाको तहगत पाठ्यक्रममा समाविष्ट विषयक्षेत्रअनुसार सामग्रीको पहिचान गरी संकलन गर्नु पर्दछ ।

२.अध्ययन सामग्रीको प्रकाहरू

 प्रतिस्पर्धात्मक परीक्षाहरूको अध्ययन सामग्रीलाई सामग्रीको स्रोतको आधारमा २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । पाठ्यक्रमको विषयवस्तुअनुसार मिल्ने खोज अनुसन्धानमूलक,प्राज्ञिक,बौद्धिक,आधिकारिक,स्तरीय पाठ्यपुस्तक वा पाठ्यसामग्रीलाई मूल पाठ्यसामग्री मानिन्छ । तीनै मूल पाठ्यसामग्रीलाई साभार गर्दै पाठ्यक्रमको विषयवस्तु अनुसार तयार पारिएका गाइड, सहयोगी पुस्तक, गेसपेपर, सन्दर्भ सामग्री सहायक सामग्री हुन् । यसलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छः

क) मूल पाठ्यसामग्री र

ख) सहायक पाठ्यसामग्री ।

३. अध्ययन सामग्रीको छनोट तथा संकलन

 लोक सेवा आयोगमा होस् या शिक्षक सेवा आयोग वा अन्य कुनै प्रतिस्पर्धात्मक परीक्षामा सफलताको लागि प्रथमतः पाठ्यक्रमको राम्ररी अध्ययन गरेपछि त्यसमा समावेश गरिएको विषयवस्तुमा गहन, व्यापक तथा विश्लेषणात्मक अध्ययनको लागि सही, उपयुक्त सामग्रीको संकलन गर्नुपर्दछ । किनकि परीक्षामा प्रश्नले सूचनाको माग गरेको हुन्छ । लिखित परीक्षामा तिनै माग गरेको सूचनालाई सन्तुलित रूपमा सशक्त र कलात्मक रूपमा प्रस्तुत गरी उत्कृष्ट लेखन गर्न सकेमा सफलता पक्का हुन्छ ।

तर दुर्भाग्यवश अध्ययन सामग्री उचित, पर्याप्त, सही, स्तरीय हुन नसके प्रतिस्पर्धीको श्रम, समय, लगानी त खेर जान्छ जान्छ व्यक्तिगत वृत्तिविकासको ढोकामा ताल्चा लाग्छ नै अनि आफूलगायत परिवारको जागिर प्राप्तसँगै साँचेका सपनाहरू समेत चकनाचुर हुन पुग्छन् । त्यसैले प्रतिस्पर्धामा सफल हुनको लागि विषयवस्तुसम्बन्धी मूल वा आधिकारिक सामग्रीको संकलन गरी अध्ययन नगरी हुन्न । यसको आशय कतिपय सामग्री सहजै प्राप्त गर्न सकिन्न वा नपाइन पनि सक्छ । त्यस्ता सामग्रीबाट लिनुपर्ने विषयवस्तुसम्बन्धी तथ्य वा सूचनालाई अन्य सहायक सामग्रीबाट लिन सकिन्छ । उदाहरणको लागि विद्यालय क्षेत्र सुधार कार्यक्रम(२००९–२०१५) को आधिकारिक दस्तावेज प्राप्त गर्न नसके विभिन्न गाइड, गेसपेपर, सहयोगी पुस्तक तथा लेखरचना आदि सामग्रीबाट टिपोट गरेर विषयवस्तुमा स्पष्ट हुन सकिन्छ । फेरि याद राख्नैपर्ने कुरा के हो भने जथाभावी जुनसुकै सामग्रीको छनौट तथा संकलनले अनावश्यक सामग्रीको जंगलमा अलमलिने सम्भावना रहन्छ । तसर्थ पाठ्यक्रम निर्दिष्ट विषयवस्तु अनुसार सही, आधिकारिक, स्तरीय, उपयुक्त र पर्याप्त पाठ्यसामग्रीको छनौट र संकलन गर्न सक्नुपर्दछ । अतः उपयुक्त, पर्याप्त र सही सामग्रीको छनौट तथा संकलन हुन सकेमा सफलताको बलियो जग वा आधार खडा हुन्छ ।

सामग्री संकलनमा ध्यान दिनुपर्ने कुराहरूः

१)     परीक्षा पाठ्यक्रमको राम्रो अध्ययन गरेर अध्ययन गर्नुपर्ने विषयवस्तुको निर्धारण गर्नुपर्छ,

२)     विषयवस्तु अनुसारको अध्ययन गर्नुपर्ने सामग्रीको पहिचान गर्नुपर्छ, के कस्ता सामग्री संकलन गर्नुपर्ने हो,

३)     सामग्री संकलनको स्रोत निर्धारण गर्नुपर्छः कुनकुन सामग्री बजारबाट र कुनकुन आधिकारिक निकायबाट प्राप्त गर्न सकिन्छ,

४)     सामग्रीको वर्गीकरण गरी सूची बनाउँदा वेश हुन्छ, केकति आधिकारिक तथा सहायक सामग्री संकलन गर्ने भनी निर्णय गर्नुपर्छ,

५)प्रतिस्पर्धामा सफल भएकासँग तथा सम्बन्धित  क्षेत्रको विज्ञ तथा अनुभवी व्यक्तिसँग सल्लाह गरेर स्तरीय पाठ्यस्रामग्रीको चयन र संकलन गर्नुपर्छ ।

शिक्षक प्रतियोगिताको पाठ्यक्रममा निर्धारित विषयक्षेत्र अनुसार पढ्नुपर्ने पुस्तकहरू

 उल्लेखित पुस्तकहरू उदाहरणको लागि मात्र हुन् । विषयवस्तुको आधारमा आफ्नो समय, स्रोत, क्षमताले भ्याएसम्म विविध पुस्तक, सहायक सामग्री, सन्दर्भसामग्री, पत्रपत्रिकादेखि इमेल, इन्टरनेटसम्म पहँुच राख्न सकिन्छ तथापि विषयवस्तुमा केन्द्रित हुन र अति महत्वपूर्ण सामग्री मात्र बल गर्नुपर्छ किनभने ज्ञान अथाह छ, आवश्यकभन्दा अनावश्यक विषयमा वढी वहकिन पनि सक्छ । यसबाट सम्बन्धित विषयवस्तुका लागि सामग्री जुनसुकै स्रोतबाट लिन सकिन्छ तर ती सामग्री शुद्ध, आधिकारिक, पर्याप्त छ छैन भन्नेमा चाहिँ चनाखो हुनुपर्दछ ।

१. शिक्षासम्बन्धी आधारभूत ज्ञान (नमुना)

ड्ड    तहगत पाठ्यक्रम (प्रा.वि., नि.मा.वि, मा.वि.)

ड्ड    योजना तथा परियोजनाको दस्तावेज,जस्तो सबैको लागि शिक्षा कार्यक्रम (२००४–२००९)

ड्ड    चालु आवधिक योजनामा तहगत शिक्षाको लक्ष्य र कार्यक्रम

ड्ड    शिक्षा आयोगका प्रतिवेदनमा २०११,२०१८,२०२८,२०४९ र २०५५

ड्ड    बहुभाषिक शिक्षा निर्देशिका, २०६६

ड्ड    बाल विकास केन्द्र सन्चालन निर्देशिका, २०६१

ड्ड    शिक्षणसिकाइ,विधि र व्यवस्थापनसम्बन्धी पुस्तकहरू

ड्ड    शैक्षिक योजना तथा मूल्यांकनसम्बन्धी पुस्तकहरू

ड्ड    बाल विकास र मनोविज्ञानसम्बन्धी पुस्तकहरू

ड्ड    शिक्षासम्बन्धी योजना तथा परियोजनाका दस्तावेजहरू

ड्ड    शैक्षिक प्रविधि र खोजसम्बन्धी पुस्तकहरू

ड्ड    शैक्षिक सामान्य ज्ञान

ड्ड    शैक्षिक पत्रपत्रिका जस्तो शिक्षा, इपेजेज आदि

२. ऐन नियमसम्बन्धी ऐन तथा नियमावलीहरू (उदाहरण)

ड्ड    नेपालको अन्तरिम संविधान,२०६३ निर्धारित विषयवस्तु मात्र,

ड्ड    शिक्षा ऐन,२०२८  (संशोधनसहित)

ड्ड    शिक्षा नियमावली,२०५९( संशोधनसहित)

ड्ड    शिक्षक सेवा आयोग नियमावली,२०५७(संशोधनसहित)

ड्ड    राष्ट्रिय पाठ्यक्रम प्रारूप,२०६३

ड्ड    विद्यालय क्षेत्र सुधार कार्यक्रम, दस्तावेज (२००९—२०१५)

ड्ड    शैक्षिक तथ्यांकको लागि फ्ल्यास रिपोर्ट, सूचना संगालो

ड्ड    विषयसम्बद्ध अन्य ऐन, नियम, नियमावली, निर्देशिकाहरू आदि ।

३. विषयगत ज्ञान तथा सीप

ड्ड    विषयगत पाठ्यक्रम

ड्ड    विषयगत पाठ्यपुस्तक

ड्ड    शिक्षक निर्देशिका

ड्ड    पाठ्यक्रम विस्तृतीकरण

ड्ड    विषयगत  विशिष्टीकरण तालिका

ड्ड    तालिम प्याकेजहरू

ड्ड    विषयगत शिक्षण विधिका पुस्तकहरू जस्तोः नेपाली शिक्षण विधि, अंग्रेजी शिक्षण विधि आदि

ड्ड    शिक्षण विधिसम्बन्धी लेख, खोज अनुसन्धानहरू आदि ।

४. अन्य एकीकृत तथा सहायक पुस्तकहरूः

ड्ड    अध्ययन तथा लेखन विधिसम्बन्धी पुस्तकहरू

ड्ड    शिक्षक गाइड, सहयोगी पुस्तक

ड्ड    पुराना प्रश्नोत्तर

ड्ड    नमूना प्रश्नोत्तर

ड्ड    पठन तथा लेखन सीपसम्बन्धी पुस्तक आदि ।

ड्ड    अन्तर्वार्तासम्बन्धी पुस्तक

ड्ड    विषयवस्तुसँग सम्बन्धित लेख संगालो आदि ।

 ४)  कसरी पढ्ने ?          

जसरी हरेक व्यक्तिको इच्छा, आकांक्षा, क्षमता, प्रतिभा फरकफरक हुन्छ । त्यसरी नै जिउने शैली पनि पनि पृथकपृथक नहुने कुरै भएन । त्यसकारण भनिन्छ सन्तान थरिथरिका अनि कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि आदि । यसबाट के स्पष्ट छ भने विश्वका सात अरब मानिसको जसरी फरक सोच,विचार,जीवनशैली र कार्यशैली हुन्छ त्यसरी नै हरेकको फरकफरक पठन शैली हुने नै भयो । तथापि अध्ययन, अनुसन्धान र अनुभवको कसीमा केही उपयोगी र सबैका लागि मिल्ने विधि र प्रविधि समेत पत्ता लगाएका छन् जसलाई पालना गरेमा पठनमा प्रभावकारिता आई सफल हुन सकिन्छ, किनकि माल पाएर मात्र हुँदैन, चाल नपाए व्यर्थ हुन्छ ।

अनि प्रतिस्पर्धामा सफल हुने पठन सामान्य परीक्षाको पढाइजस्तो, पत्रिकाको पठनजस्तो अनि साहित्यिक पठनजस्तो  हुँदैन । भनूँ प्रतिस्पर्धात्मक पठन रणनीतिक र चातुर्यपूर्ण हुनाका साथै गहन, गम्भीर, व्यापक, विश्लेषणात्मक हुनैपर्छ । अध्ययनले विषयको चिरफार नै गर्न सक्नु  पर्दछ ताकि त्यस विषयमा जस्तो र जसरी प्रश्न सोधे पनि सशक्त र उत्कृष्ट जवाफ दिन सकियोस् यो दही मथेर नौनी निकाने कामजस्तै हो । फेरि अरूको पठनशैली हुबहु नक्कल गर्नु पनि व्यावहारिक नहोला । आफ्नै मौलिक शैलीलाई कायम राखी अरू विधि प्रविधि समेतलाई अंगालेर अध्ययनलाई सफल एवम् फलदायी बनाउन सकिन्छ । व्यावहारिक अनुभवको आधारमा अध्ययनलाई निम्न १० चरणमा वर्गीकरण गर्न सकिन्छ ।

अध्ययन चक्र

क) पठन सामग्रीको पहिचानः

विषयस्तुका लागि केकस्ता सामग्रीको अध्ययन गर्नुपर्ने हो तिनको पहिचानसँगै अध्ययन संसारमा प्रवेश गरिन्छ । भनूँ प्रतिस्पर्धारूपी संग्राममा हाम्फालिन्छ । यो प्रतिस्पर्धात्मक परीक्षाको प्रथम चरण हो ।

ख) सामग्रीको संकलनः

विषयवस्तुका आधारमा सामग्रीको पहिचान वा चयन गरिसकेपछि पर्याप्त मात्रमा आधिकारिक तथा सहायक सामग्रीको संकलन गर्नुपर्दछ जुन विषयवस्तुको लागि सही, उपयुक्त र पर्याप्त होस् । यसलाई विभिन्न स्रोत वा निकायबाट संकलन गर्न सकिन्छ । कतिपय सामग्री बजारमा पाउन सकिन्छ भने कतिपय आधिकारिक निकायबाट प्राप्त गरिन्छ र साथीभाइ लगायत अन्य व्यक्तिहरूबाट पनि सामग्री संकलन गर्नुपर्ने हुन सक्छ ।

ग) सामग्रीको वर्गीकरणः

सामग्रीको संकलन गरिसकेपछि पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तुको प्रकार, विविधता, क्षेत्र, प्रकृति, महत्व आदिको आधारमा एकाइगत वा शीर्षकगत रूपमा सामग्रीलाई वर्गीकरण गर्नुपर्दछ । यसो गर्दा अध्ययनमा सहजता आउनका साथै सामग्रीको भीडमा हराउन्न, सामग्री व्यवस्थापन हुन्छ जुन अध्ययनको लागि सहयोगी हुन्छ । अर्थात् पुस्तकालय शैलीको रूपमा यसलाई लिन सकिन्छ किनकि पुस्कालयमा ज्ञान विज्ञानको अथाह भण्डारलाई यसरी व्यवस्थापन गरिएको हुन्छ कि जुन चाहिएको बेला पाठकले सहजै प्राप्त गर्न सकोस् ।

घ) सरसरती अध्ययन र टिपोट

सामग्री संकलन र वर्गीकरणपछि अध्ययनको सुरूवात हुन्छ ।  सर्वप्रथम विषयवस्तुको सरसरती अध्ययन गरी मुख्य कुरा वा अत्यावश्यक र महत्वपूर्ण विचार,तथ्य,सूचनाको टिपोट गर्दै जानुपर्छ, जुन अत्यन्तै महत्वपूर्ण र  विषयवस्तुको चूरो होस् अन्यथा अनावश्यक विचार, भाव, सूचना, तथ्यको डंगुर त बन्ला तर जडी कुरा चाहिँ छुट्न बेर लाग्दैन । टिपोट भाषागत, बुँदागत, आरेख, चित्रात्मक, संकेत कुनै पनि प्रकारमा हुन सक्छ, जुन व्यक्तिगत क्षमता, शैली, रूचि तथा स्तरअनुसार हुने गर्छ । जे होस् सरसरती अध्ययनसँगै महत्वपूर्ण कुरा टिप्दै जानु उपयुक्त हुन्छ । हुनत यस्तै गर्नुपर्छ भन्ने सत्य नै के छ र ? तथापि अध्ययनलाई स्मरणीय बनाउन र पाठ्यसामग्रीको भीड हटाउँदै जानको लागि अध्ययन र टिपोटलाई सँगसँगै लैजान सकिन्छ ।

ङ) गहन अध्ययन, विश्लेषण तथा स्मरण

यो विषयवस्तुको सांगोपांगो वा व्यापक अध्ययन मात्र होइन विषयवस्तुको चिरफार हो, विश्लेषण हो अनि गहिराइको छिचोलाइ हो र समुन्द्रको मोती टिपाई हो । किनकि यसमा विषयवस्तुको विद्यमान अवस्था, सबलता, दुर्बलता, अवसर, समस्या, चुनौती पक्षलाई केलाइन्छ  वा विवेचना गरिन्छ ताकि विषयवस्तुको जिरीखुरी सबै विवेचना गर्न सकियोस् र परीक्षामा जस्तो जसरी प्रश्न सोधे पनि तिनै विषयवस्तुको गुदी वा मूलभाव वा सूचनाको आधारमा सशक्त र वजनदार प्रस्तुति गर्न सकियोस् । यसमा अघिल्लो चरणमा टिपेका टिपोटमा थप टिपोट गर्नका साथै यसको मनन र स्मरण गरिन्छ । अझ वस्तुगत परीक्षाको लागि तिथिमिति याद गर्नुपर्दछ जसको लागि बारम्बार स्मरण आवश्यक पर्न सक्दछ । सरल भाषामा भन्दा कतिपय कुरालाई कण्ठस्थ नै गर्नुपर्दछ । यहाँनेर के याद राख्नुपर्छ भने वस्तुगत कुरा बाहेक अन्य नरटेर बुझेर पढ्नुपर्दछ किनभने विषयगत परीक्षामा सिर्जनात्मकता र मौलिकताले प्राथमिकता पाउने गरेको पाइन्छ । यसमा विषयवस्तुका नवीनतम ज्ञानलाई समेत समेट्न सक्नुपर्दछ। यसमा थप सामग्रीको खोजीदेखि अध्ययन र टिपोट समेत गर्नुपर्ने कुरालाई भुल्नुहुन्न ।

च) छलफल, संशोधन तथा परिष्कार

विषयवस्तुसम्बद्ध सामग्रीको गहन अध्ययन, विश्लेषण तथा मननपछि अध्ययनलाई थप परिष्कृत बनाउन संशोधन तथा परिष्कृत गर्नुपर्दछ । कतिपय अस्पष्ट र अपूर्ण रहेका विषयवस्तुमा स्पष्ट हुन सम्भव भएसम्म विशेषज्ञ वा विज्ञसँग सोधी प्रष्ट हुनुपर्दछ । अझ समकक्षीहरूको समूह बनाई छलफलकासाथ कम्बाइन स्टडी गर्न सक्दा उत्तम नहुने कुरै भएन । तर व्यावहारिक व्यस्तताको कारण त्यो प्राप्त नभए पनि विषयवस्तुको अस्पष्ट र अपर्याप्तलाई पुस्तकालय धाएर होस् या विभिन्न व्यक्तिसँग भेट्ने कष्ट सहेरै किन नहोस् हटाएरै छोड्नुपर्छ । यो खेलाँचीको मामला रहेन किनकि यो त  प्रतिस्पर्धीलाई जसरी नै उछिन्नुपर्ने खरो प्रतिस्पर्धाको कुरो रह्यो, कि गर कि मरको जागिर प्राप्तिको लडाइको कुरा भयो,यतिमात्र कहाँ हो पद, पहिचान, इज्जत, प्रतिष्ठाको मामला रह्यो । त्यसैले प्रतिस्पर्धाको लडाइमा बहादुरी सावित गर्न कुनै कसुर बाँकी नराखी मेहनत किन नगर्ने ? अनि विषयवस्तुसम्बन्धी प्राप्त ज्ञान, सीपको परिमार्जन तथा परिष्कार गर्न किन पछि पर्ने? यसरी विषयवस्तुमा खारिनको लागि छलफल, संशोधन  र परिष्कार अपरिहार्य ठानिन्छ ।

छ) लेखन अभ्यासः

 लेखनको माध्यमबाट परीक्षा सञ्चालित हुन्छ । निर्धारित समयमा सोधिएको प्रश्नको समाधान गरेर उत्कृष्ट अंक प्राप्त गर्न सके प्रतिस्पर्धात्मक परीक्षामा सफलता हात लाग्छ । त्यसकारण प्रतिस्पर्धामा पढेर मात्र सफल हुँदैन पढेको कुरालाई उत्कृष्ट लेखेर सफल हुने हो, जुन अरूको भन्दा पृथक, आकर्षक, मौलिक, स्तरीय, सटिक हुनुपर्छ । धेरैले असाध्य मेहनत गरी पढ्छन् र पनि जीवनमै प्रतिस्पर्धात्मक परीक्षामा सफल हुँदैनन् । यो भाग्यको दोष, सतीको सरापले होइन, लेखनशैली, स्तर र क्षमताको कारणले चाहिँ पक्कै हो । त्यसो त कसरी लेखनलाई उत्कृष्ट बनाउन सकिन्छ ? प्रश्न तेर्सिन्छ । यसको एउटै उत्तर निरन्तरको लेखन अभ्यास नै हो । त्यसैले प्रतिस्पर्धीले समयको सीमामा रहेर पुराना तथा नमूना प्रश्नहरूको समाधान गरी विज्ञसँग पृष्ठपोषण लिन सकिन्छ । त्यो संभव नभए आफैं जाँचेर स्तर हेर्न सकिन्छ किनकि दुनियाँमा आफ्नो सुधारको सबैभन्दा महान गुरू हुनसक्छ भने आफैँ हुन सक्छ अरूले खाली मागदर्शन गर्लान् गर्ने त आफैँ होइन र ? त्यसैले सबभन्दा पक्का उपाय आफैँ पढ्ने, लेख्ने र जाँच्ने परिमार्जन गर्दै जानुपर्दछ । कतिपय विषयमा आफैले अनुमानित प्रश्न बनाएर लेखन अभ्यास गरेमा फलदायी हुन्छ । लेखन खालि परीक्षासम्बन्धी विषयमा मात्रै गर्नुपर्छ भन्ने के छ र ? अन्य सिर्जनात्मक लेखनमा सहभागी हुँदा लेखक पनि भइने ,जागिर पनि पाइने, अझ पैसा पनि कमाइने ? चकाचक छैन र ? तर गर्न चाहिँ सक्नुप¥यो, भन्न सजिलो छ तर गर्न त्यति सजिलो छैन, फेरि असंभव चाहिँ के छ र ? नगरे सफलता हात लाग्दैन । त्यसकारण प्रतिस्पर्धीले सफलता पाउन लेखनलाई उत्कष्ट नबनाई धरै छैन । निरन्तर लेखन अभ्यास गरेमा लेखनमा सुधार पक्का छ अनि जागिर— “कहाँ जाला मछडी मेरै ढडिया” कसो ?

ज) निचोड व सारांशः

कुरा, औषधि नचिनेर पहाड बोक्ने हनुमानको होइन, औषधि निचेर सिंगो पहाडै नबोकी जडीबुटी मात्र ल्याउने क्षमताको हो । भनाइको मतलब समग्र विषयवस्तु र सामग्री हनुमान र पहाड हुन् भने तिनै पहाडभित्र रहेको थोरै जडीबुटी चाहिँ हाम्रो अध्ययनको निचोड हो । प्रत्येक एकाइ वा विषयवस्तुको निचोड निकाल्न सक्नु नै अध्ययनको सफलता हो । यसलाई सारांश रूप वा नोट तयार पार्दा सरसरती हेरेर मनन,स्मरण गर्न सकिन्छ । किनकि परीक्षा अघि पुनः सबै सामग्रीको सर्वेक्षण गर्न सकिन्न । त्यसकारण निष्कर्षको मानसिक स्वरूप दिमागमा रहे पनि भौतिक स्वरूप सारांश नोट ९प्भथ ल्यतभ) प्रतिस्पर्धामा निशाना मार्ने अचूक रामवाण ठहरिन सक्छ । अतः अध्ययनको निचोडमा पुग्नु भनेको सफल अध्ययन भएको मानिन्छ ।

झ) निरन्तरताः

 प्रतिस्पर्धामा सफलताको सदावहार सूत्र के हुन सक्छ भने पढ्ने, पढ्ने फेरि पनि पढ्ने र लेख्ने,लेख्ने र फेरि पनि लेख्ने । यसको मतलव निरन्तरको अभ्यास विनाको सफलताको अपेक्षा वा सपना साकार हुँदैन । किनकि यो न जादुगरी चिठ्ठा हो न आकाशबाट उसै झर्ने फल नै हो । बरू यो त निरन्तरको कडा साधना र तपस्याको मीठो फल हो, नतिजा हो र महान् उपलब्धि हो । त्यसैले पठन र लेखनमा निरन्तरता दिन सकेमा सफलता सुनिश्चित हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

५) निष्कर्षः  

 प्रतिस्पर्धात्मक परीक्षामा के पढ्ने र कसरी पढ्ने थाहा नपाएरै धेरै जना असफल भएका हुन्छन् । त्यसैले के लेख्ने र कसरी लेख्ने भन्ने ज्ञान र सीप नहँुदा सफलतामा पूर्णविराम लाग्न सक्छ । त्यसकारण सफलताको लागि योजनाबद्ध, व्यवस्थित, रणनीतिक चातूर्यपूर्ण, विशिष्ट, उत्कृष्ट अध्ययन तथा लेखनको  जरूर आवश्यकता पर्दछ । गरेरै छाड्छु भन्ने आत्मविश्वास र निरन्तर लागि रहन सक्ने धैर्यता यसका लागि अत्यावश्यक उर्जा हुन्। अनि लक्ष्यमा पुग्न कुनै कसुर नराखी मरिमेट्ने आँट,अठोट भएमा सफलताको पछि लाग्ने हैन सफलता चाहिँ पछि नलाग्ला भन्न सकिन्न । सफलताकाे सुत्र पुस्तकबाट साभार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.