इन्द्र बहादुर थापा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्र स्थापना भएको झण्डै २५ वर्ष वितिसकेको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)बाट हाल फोनिज भएको हो । वि.स. २०५६ साउन २७ गते नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) विधिवत दर्ता भएर सञ्चालनमा आएको थियो । वि.स. २०७० जेठ २६ र २७ गते कास्कीको पोखरमा भएको चौथो महाधिवेशनले अनिजबाट फोनिजमा रुपान्तरण गरेको हो ।
फोनिज काभ्रे जिल्ला शाखाको हकमा भने दिनेश लामाको संयोजकत्वमा २०६१ साथमा स्थापना भएको थियो । दोस्रो कार्यकालको लागि भएको पहिलो जिल्ला अधिवेशनबाट योकबहादुर घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका थियो र दोस्रो जिल्ला अधिवेशनबाट उजाड रक्तिमको अध्यक्षतामा नयाँ कार्यसमिति २०६५ माघ ४ गते चयन भएको थियो । यो कार्यसमिति निर्वाचित भएपछि जिल्लामा आदिवासी जनजाति पत्रकारहरू सशक्त ढंगले आफ्नो पत्रकारिताको व्यावसायिक धर्ममा नडगमगाइकन आफ्नो अधिकारको लागि समेत अभियान चलाउँदै आउन सफल भएको थियो । त्यस्तै गरी २०७० साल बैशाख २१ गते सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट पुनः उजाड रक्तिमकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । त्यसै गरी २०७४ सालमा चमार सिं लामा (शिशिर)को अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भए । र २०७८ सालका ५औँ जिल्ला अधिवेशनबाट भारीमतका साथ इन्द्रबहादुर थापाको अध्यक्षतामा लोकतान्त्रिक विधिबाट कार्यसमिति चयनको भयो । यो कार्यसमितिले पनि विगतको जस्तै आफ्नो मुद्दा तथा हकअधिकार संस्थापना गर्ने तथा आदिवासी जनजाति पत्रकार साथीहरूको क्षमता तथा गुणस्तर वृद्धि गर्नको लागि विभिन्न कार्यक्रम गर्ने कार्यक्रमलाई निरन्तरता दिइँदै आएको र काभ्रे जिल्लामा फोनिज काभ्रेको पहिचान र अस्तित्व कायम गर्न सफल भएको कुरा सबैमा जगजाहेर नै छ ।
फोनिज काभ्रेले आदिवासी जनजाति पत्रकारहरूको हकहितका लागि काम गर्दै आएको कुरा यहाँहरूलई अवगत नै छ । जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न तालिम प्रदान गर्दै आफ्नो सदस्यहरुको ज्ञानको दायरालाई फराकिलो बनाउनको खातिर हरेकखाले तालिम र अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । युग सुहाउदो पत्रकारिता तालिम दिदै आएका छौँ र आगामी दिनमा पनि दिनेछौँ ।
२०७८ सालमा नयाँ कार्यसमिति निर्वाचित भएपछि फोनिज काभ्रेले कार्ययोजनाहरू कार्यान्वयन गर्दै संस्थागत विकास र क्षमता अभिबृद्धिको काम गर्दै अगाडी बढीरहेको छ । पछिल्लो समय प्रविधिमैत्री युग आएको छ । फोनिजकर्मी साथीहरू प्रविधि मैत्री बनाउनको लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेर प्रविधिमैत्री पत्रकारीता तालिमहरू गरीरहेको छ । प्रविधिमैत्री दक्षता नभएको कारण हाम्रा साथीहरु वैदेशिक रोजगारीको शिलशिलामा विदेशिएको हुनसक्ने सम्भावनालाई मनन गर्दै त्यसलाई रोक्नको लागि त्यस्ताखाले कार्यक्रम गर्दै आएका छौ । पाँचौँ जिल्ला अधिवेशनमा क्रियाशील रहेका कूल ९४ सदस्यहरू थिए । छैठौँ अधिवेशनसम्म आईपुग्दा विदेशिने र अन्य क्षेत्रमा लागेका व्यक्तिहरुको सदस्यता खारेज गरेर हाल ५३ जनाको नविकरण र १० जना नयाँ सदस्य वितरण गरेका छौँ । हाल फोनिज काभ्रेमा ६३ जना सदस्य रहेका छन् । (थापा नेपाल अादिवासी जनजाति पत्रकार महासंघ काभ्रेपलाञ्चाेकका अध्यक्ष हुन् ।)