अदृश्य सिमाना त्यो

परम्पराको रेखाङ्कन
पत्थरिलो चट्टान झैँ
कडानुशासनको त्यो सिमाना
नाघ्न नसकेको,मेटाउन नसकेको
त्यो मनस्पटलको सिमाना
परम्पराले जडित
दिमागी सिमानाले महल बनाएको
कुसंस्कार,कसँस्कृतिको
रक्षाकवच पहिरिरहेको
अन्तस्करणमा नै लगाएको त्यो सिमाना ।
धन र बलले लगाइएको
त्यो उच्च पर्खाल झैँ
जात,भात,लिङ्ग, धर्म भन्दै
पिँजडा जस्तै संस्कृतिको सिमाना
भत्काउनै पर्ने
कतै सम्याउनु पर्ने
विछ्याइएका विषालु काँडाहरु
पन्छाउनुपर्ने
त्यो विशाल सिमाना ।
घरभित्र देखि दरबारसम्म
देशभित्रदेखि परदेशसम्म
खेतमा आली लगाए झैँ
धनी र गरीबको त्यो रेखा
महिला र पुरुषको विभेद
कचिङ्गलको त्यो रेखा
ठूलाले सानालाई हेप्न
निर्धारण गरिएको सिमाना
त्यो जात,ऊ जात भनी
लगाईएको त्यो सिमाङ्कन रेखा
विष शेचन गरिएका
विशाल भूमिका पर्खाल झैँ
विषादीले तानिएका धर्साहरु
र पो
तिमी यहाँबाट त्यहाँ आउन सम्भव छैन
छोएका पानी तिम्रो चल्दैन
यसको मतलब
जातले निर्धारण गरेको छ सिमाना ।
निषेध !
तिमीलाई यो मन्दिरमा
धार्मिक कुसंस्कारले निर्धारण गरेको सिमाना
बालुवाले बनेको
विहार,गिर्जा,मन्दिर र मस्जिद भन्दै
मनमुटावको त्यो गाईजात्रा
संर्कीणताको डोरीले बाँधिएको
‘तँ’ र ‘म’ को
त्यो सिमानाको बाँध
भत्काउनै पर्छ ।
हामी ठगीसक्यौँ
त्यो भूल हाम्रो
जसलाई हामीले जात भनी
संघारमा सिमाना कोरी
कानूनको घाँटी निमोठ्याँै
धनको बाँध बाँधी
गरीबलाई खाल्डोमा डुबायौँ
महिला भनी विभेदका
भयंकर रेखा कोर्यौँ ।
रगतले कोरेका सिमानाले
शान्ति पाउन सकेन
परेवा उडाउँदैमा
शान्तिका नाम जप्दैमा
कचिङ्गल थामिदैन
मनुष्यले निर्धारण गरेको सिमाना
कहिल्यै टिकेन
प्रकृति विरुद्ध प्रतिवाद गर्दा
मानिसले नित्य जितेनन् ।
कालापानी,नालापानी हेरफेर होलान्
कति कहाँबाट चोइटिएलान्
भारतबाट पाकिस्तान भए जस्तै
स्वतन्त्र शासन भन्दै
धेरै टुक्रिएलान् ।
त्यो जापान, यो नेपाल
त्यो भुटान, त्यो चीन
त्यो भारत, त्यो अमेरिका
मानव रक्तले निर्धारण गरेको राज्य
अशान्तिको घेराबन्दीमा छट्पटाइरहेछ
केवल मानव अस्तित्व र महत्वकांक्षाका
सिमानाको धाक दिईरहेछ
एकले अर्कालाई चुनौती दिँदै
अहमताको सिमाना कोरिरहेछ ।
मानव अस्तित्वको संकट
फर्सीको जरा झँै
राम्रा र नराम्राको लडाईँ
सर्वहारा र सर्वभराको संघर्ष
क्रान्तिको ज्वालामुखीको त्यो मुस्लो
शान्तिका करुण रोदन
यो डल्लो पृथ्वीभित्र
कमिला जत्रा मानिसले गरेका लडाईँ
रचेका नाटक
‘तिमी’र ‘म’ को घमण्डका
सिमाङ्कन भत्काउनै पर्छ
मेटाउनै पर्छ ।
बाँच्न मन छ भने त
वा
मर्न डर छ भने त
आफू बाँच्न लगाइएका सिमाना र
अरुलाई बाहिर पार्न लगाइएका पर्खाल भत्काउनै पर्छ ।
सिमाना कविता सङ्ग्रहबाट साभार