वडा अध्यक्ष भएपछि तपाईंले चुनावी घोषणपत्रमा उल्लेखित वाचाहरु पूरा गर्नुभयो त?

–चुनावी अभियानको क्रममा हिँडेका वाचाहरु लगभग पूरा हुँदैछ । त्यस वखत हामीले एक घर एक धाराको कुरा गरेका थियौँ । खानीखोलाको सबैभन्दा बढी पानीको अभाव रहेको बाँसघारी,सिरुटार,डाँडागाउँमा स्वच्छ खानेपानीको व्यवस्था गरेका छौँ । वडा कार्यालय सम्म बनेपाबाट बस सञ्चालन गर्नेछु भनेको थिएँ । वर्षाको बेला सम्भव नभएपनि निवार्चित भएको २÷३ महिनामा नै बस सञ्चालन गरेँ ।नारायणी संघमा दर्ता गर्न लगाएर जनमुक्ति मार्ग मार्फत हेटौँडासम्म बस सञ्चालन गर्न सफल भयौँ । पहाड र तराईका आफन्तहरुलाई सहज बनायौँ । खानीखोला वडा नं. ४ जगथलीमा रहेको कुमारी मा.वि.मा म निर्वाचित भएपश्चात कक्षा १२ सम्म सञ्चालन गर्न सफल भएका छौँ । आवासीय विद्यालय बनाएका छौँ खानीखोलाको एक मात्र आवासीय विद्यालय हो । जसको आमा बुबा छैन,आमा बुबा भएर पनि आर्थिक अवस्था कमजोर भएर पढ्न नसक्ने,सहीद परिवार,बेपत्ता परिवारका छोराछोरीको लागि खान,बस्न,लाउन र कक्षा १२सम्म निःशुल्क बनाएका छौँ । बाँसघारी जगथली सडक विस्तारको काम भइरहेको छ । खानीखोला गाउँपालिकाको सबैभन्दा पहिले आप्mनै कार्यालयबाट सेवा दिने कार्यालय वडा नं.४ हो । वडाबाट पालिकासम्म १२ महिनै सवारीसाधन चल्ने गरी बाटो निर्माण गरेका छौँ । विद्युतीकरण गर्न लगभग सम्पन्न हुन लागेको छ ।
तपाईंको वडामा देखिएका समस्याहरु के के छन् ? त्यो समस्या समाधान गर्न तपाईंले गर्नुभएको पहल?
–असार,साउन भदौ असोजसम्म हाम्रो समस्या भौगोलिक कारणले यातायातको सुविधा दिन निकै कठिनाई छ । प्राकृतिक प्रकोप बाढीपहिरोको मुख्य समस्या छ । ३ महिना जति नागरिकहरुलाई आवातजावत गर्न निकै समस्या छ । शैक्षिक क्षेत्रमा पनि समस्या छ । खानीखोलाकै बारेमा पाठ्यक्रम निर्माणको पहल गरेका छौँ ।
जनप्रतिनिध र कर्मचारीबीच सम्बन्ध चिसिरहेको र कतिपया ठाउँमा चाहिँ हातपात नै भैरहेको अवस्थामा तपाईँले कसरी लिनुभएको छ ?
–केही समस्या त हुन्छन् नै । जनताबाट निर्वाचित भएको र उहाँहरु लोक सेवा आयोगबाट छनौट भएर आएको यसमा अन्तर त छँदैछ । हामी ५वर्षको लागि निर्वाचित भएका हौँ । जनप्रतिनिधिलाई कहिल्यै छुट्टि हुन्न । उहाँहरुलाई कार्यालय समयसम्म मात्र हो काम । अहिले सम्म कर्मचारीहरु हाम्रो मातहतमै छन् । उहाँहरुलाई नागरिकहरुको सेवाप्रति उत्तरदायित्व भएर, जनताको समस्याहरु हल गर्न भनेको छु । गुनासो नआउने गरी काम गर्न भनेको छु । वडा सचिव पनि हाम्रो स्थानीय हुनुहुन्छ, आवश्यक परे उहाँकै घरमा नै गएर सेवा दिने व्यवस्था गरेका छौँ ।
तपाईंको ५ वर्षे कार्यकालमा चुनावी घोषणपत्रको संकल्प पूरा होलान् त ?
–मलाई लाग्छ, केही केही पूरा नहोला तर हामीले सोँचे अनुसार पूरा भइरहेको छ । अव २ वर्ष बाँकी छ । बाँकी काम पूरा होला सायद । विद्युतीयकरण गरेका छौँ । शैक्षिक क्षेत्रमा पनि केही फड्को मारेका छौँ ।
अन्त्यमा वडावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
–वडा अध्यक्ष भनेको जनताको सेवक हो । वडा अध्यक्ष शासक होइन, जनताबाट निर्वाचित प्रतिनिधि मात्र हो । वडा अध्यक्ष भएपछि जनताका साना मसिना काम लिएर जनताको सेवा गर्यो भने जनताको प्रिय मान्छे बन्दोरहेछ । कतिपय वडा अध्यक्षहरु राजामहाराज जस्तो देखिएपनि हामीले त्यस्ता गरेका छैनौँ । जनताको समस्यामा हरपल खटिरहनुपर्छ । म कसैले फोन गरेर फोनमा डायल गरी म्यासेज आउँदा फोन फर्काउन आतुर भएको जनप्रतिनिधि हुँ । म प्रति गुनासो सुन्न परेको छैन। शासकको रुपमा होइन प्रतिनिधिको रुपमा उभिएर काम गर्नुपर्छ । जनताको सुखमा सँगै रमाउने,शोकमा जनतामाझ पुग्नुपर्छ । अझ म गम्भीर रुपमा लागेर काम गर्नेछु ।
लाेक समर्पण त्रैमासिक वर्ष २ अङ्क २ माघ-चैत्र २०८१